‘टेक अर पे’प्रणाली अन्तर्गत पीपीए गरे मात्रै निजी क्षेत्रको भूमिकालाई बढाउन सकिने

0
4

काठमाडौँ, कात्तिक २७ गते ।  निजी क्षेत्रका जलविद्युत् प्रवद्र्धकसँग विद्युत् खरिद सम्झौता (पीपीए) गर्दा ‘टेक अर पे’ (खरिद गरेपछि प्रयोग गरे पनि नगरे पनि भुक्तानी गर्ने प्रणाली ) मा जाने तयारी सरकारले गरिरहेको छ ।

 

‘टेक एन्ड पे’  प्रणाली अनुसार पीपीएको कोटा सकिएको भन्दै नेपाल विद्युत् प्राधिकरणले निजी क्षेत्रका विद्युत् प्रवद्र्धकसँग पीपीए गर्न छाडेपछि निजी क्षेत्रका विद्युत् प्रवद्र्धकले बिरोध गर्दैआएका थिए ।  ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले आइतबार भन्नुभयो, टेक अर पे प्रणालीबाट पीपीए गर्दा मात्र निजी क्षेत्रको लगानी प्रोत्साहन गर्न सकिन्छ र  नेपालको विद्युत् विकासमा निजी क्षेत्रका भूमिकालाई बढाउन सकिन्छ ।  ‘टेक एन्ड पे’ ( बिजुली प्रयोग गरे मात्र भुक्तानी दिनुपर्ने प्रणाली) मा मात्र हामी जाने हो भने निजी क्षेत्रका प्रवद्र्धकले कसरी लगानी बढाउन सक्छन् ? अन्ततः टेक अर पे प्रणालीमा नै जाने हो ।

 

विद्युत् आयोजना धमाधम निर्माण हुँदैजाने र त्यो अनुसारको प्रसारण लाइनको विकास हुन नसक्दा प्राधिकरणले उत्पादन भएको सबै बिजुली खरिद गर्न नसक्ने भन्दै २०७१ साल भदौदेखि नै ‘टेक एन्ड पे’ प्रणाली अन्तर्गत पीपीए गर्दै आइरहेको थियो ।  ऊर्जा विकासका लागि ९९ बुँदे ऊर्जा सङ्कट निवारण कार्ययोजना–२०७२ ले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यलाई आधार मानेर ३० प्रतिशत बिजुली बराबर (तीनहजार मेगावाटसम्म) रन अफ दि रिभरमा आधारित आयोजनालाई टेक अर पे प्रणालीमा पीपीए गर्ने निर्णय गरेको थियो ।  यसरी बिजुली खरिद गर्दा प्राधिकरणलाई पर्ने आर्थिक भारलाई सरकारले अनुदानका रूपमा उपलब्ध गराउने नीतिगत निर्णयका आधारमा यस अघि टेक एन्ड पे प्रणाली अनुसार पीपीए भइसकेका र अरु नयाँ आयोजना सहित गरेर ३००० मेगावाट भन्दा बढीको पीपीए भइसकेको प्राधिकरणले जनाएको छ ।

 

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भन्नुभयो, प्रसारण लाइनको क्षमताको आधारमा प्राधिकरणले विद्युत् खरिद गर्ने भएकाले विद्युत्गृह निर्माणसँगै प्रसारण लाइनको विकास हुन नसक्दा प्राधिकरणले उत्पादन भए जति सबै बिजुली खरिद गर्न सक्ने स्थिति भएन ।   त्यसैले टेक एन्ड पे प्रणालीमा गएका हौँ ।  उत्पादनसँगै प्रसारण लाइन पनि निर्माण हुन सके प्राधिकरणले जति पनि बिजुली खरिद गर्न तयार छ ।

 

प्राधिकरणले ऊर्जा प्रवद्र्धकसँग पीपीए गर्नुभन्दा अघि ग्रीड प्रभाव अध्ययन गर्ने गरेको छ ।  प्रसारण लाइनको क्षमता भएमात्र पीपीए गर्ने भएकाले हाल प्रसारण लाइनको क्षमता नहुँदा थप पीपीए गर्न नसकेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

 

उता मन्त्रालयका प्रवक्ता घिमिरेले भने प्राधिकरणले यस अघिको कोटा अनुसार ‘टेक अर पे’ प्रणाली अन्तर्गत पीपीए भइसकेको भए थप आयोजनासँग पीपीए गर्न पहल गरे मन्त्रालयले पुरानै व्यवस्थाका आधारमा थप कोटा निर्धारणको निर्णय गर्न सक्ने बताउनुभयो ।

 

प्रवक्ता घिमिरेले भन्नुभयो, पहिलेको कोटा सकिएको भए प्राधिकरणले मन्त्रालयसँग समन्वय गर्नुप¥यो नि ? हामीले त निजी प्रवद्र्धकलाई प्रोत्साहन गरेर नेपालको ऊर्जा विकास गर्ने हो ।

यद्यपि प्राधिकरणले भने प्रसारण लाइनको निर्माण बिना नै निजी क्षेत्रका प्रवद्र्धकसँग पीपीए गर्नुको कुनै अर्थ नरहेको तर्क प्रस्तुत गर्दै आइरहेको छ ।
प्राधिकरणका अनुसार तीन हजार मेगावाट टेक अर पे प्रणाली अनुसार पीपीए भएका मध्ये ४५ मेगावाट उत्पादन क्षमताका विभिन्न छवटा जलविद्युत् आयोजनाले काम सुरु गरिसकेका छन् ।  प्राधिकरणका प्रवक्ता अधिकारीले भन्नुभयो, ऊर्जा क्षेत्रको विकासका लागि प्राधिकरण निकै संवेदनशील भएर लागिरहेको छ ।  प्रसारण लाइन निर्माणलाई प्राथमिकतामा राखेर प्राधिकरणका काम अगाडि बढिरहेका छन् ।

प्रसारण लाइनले धान्न सक्नेसम्म प्राधिकरणले सबै ऊर्जा उत्पादकसँग बिजुली खरिद गर्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।