ट्याङ्करमा सुरक्षित सिल

0
9

इन्धन ढुवानी कार्यमा चोरी र मिसावट एक गम्भिर समस्याको रुपमा रहँदै आएको छ । निगम व्यवस्थापनको अथक प्रयासका बाबजुद पनि यस समस्या हालसम्म पूर्ण रुपमा समाधान हुन सकेको छैन । बिगतका दिनमा सरकारी अनुगमन टोलीहरुको अध्ययनले पनि यसलाई पुष्टी पनि गरेका छन् ।अहिले व्यवसायीहरु केही सचेत छन् भए पनि शतप्रतिशत सुधार भने हुन सकेको छैन । इन्धन ढुवानीको क्रममा मिसावटमा कमी आएपनि नोक्सानी भने बढ्दो छ ।

हाल थानकोट डिपोबाट ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ९० लिटर नोक्सानी हुने व्यवसायीको दाबी छ । निगमले ४५ लिटर क्षतिपूर्ति दिदै आएकोमा उनीहरुले थप क्षतिपूर्ति दिनुपर्ने दबाब दिदै आएका छन् । सरकारी राय भने फरक छ । ट्याङकर चालकको चारीको कारण नोक्सानी बढेको सरकारी पक्षको दाबी छ । यी दुई पक्षबिचको बिवाद बर्षेनी चल्दै आएको छ । हाल देखिएको समस्या सधैको लागि समाधान गर्न ट्याङकरमा सुरक्षित सिल (लकिङ प्रणाली) एकमात्रै बिकल्प बनेको छ । सुरक्षित सिल कार्यान्वयनले चुहावट, मिसावट र अपचलन सधैँका लागि बन्द हुने सरकारी दाबी छ ।

करिब तीन वर्षअघि तत्कालीन अर्थमन्त्री रामशरण महतले पनि बजेट भाषणका क्रममा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरमा सुरक्षित सिल प्रणाली जडान गरी चुहावट नियन्त्रण गर्ने घोषणा गरेका थिए ।

हाल सिल जडान नहुँदा ट्याङकरको तेल अपचलन भएको सरकारी तथ्याँकहरुले नै देखाँउछन् । भारतीय आयल निगम (आईओसी) डिपोबाट निगमको डिपो र निगमका डिपोबाट विक्रेतासम्म पुग्दा एक चेम्बरबाटै ९८ लिटरसम्म कम हुने गरेको छ । सिल प्रणाली जडान मार्फत चुहावटमा नियन्त्रण भई घाटामा केही नियन्त्रण हुने निगम र व्यवसायीको दाबी छ ।

लकि∙ प्रणालीले सबै पक्षलाई फाइदा हुन्छ । हाल इन्धन चोरी भएका कारणले ट्याङकर व्यवसायी बद्नाम भएका छन् । लकि∙ प्रणाली लागू भए चुहावटको विवाद अन्त्य हुने दाबी छ । पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनका अध्यक्ष लिलेन्द्र प्रधानका अनुसार सिल प्रणालीले ९० प्रतिशत चोरी नियन्त्रण हुन्छ । ‘सिल प्रणालीले सरकार, व्यवसायी र उपभोक्ता तीनै पक्षलाई फाइदा हुन्छ,’ अध्यक्ष प्रधानले भने, ‘यो प्रणाली जतिसक्दो छिटो कार्यान्वयन आवश्यक छ ।’ ट्याङकरमा सिल जडान गर्न निगम संचालक समितिले स्वीकृती दिइसकेको छ । निगमका बितरण विभागका निर्देशक एवम प्रवक्ता बिरेन्द्र गोइलले सिल प्रणाली अन्तिम चरणमा पुगेको बताए । ‘ट्याङकरमा सिल जडान गर्न आइओसीसँग सहकार्य अत्यावश्यक छ । आइओसीसँग छलफल पनि हुन्छ,’ उनले भने, ‘ताल्चाका लागि आइओसीले टेण्डर अह्वान गरेको छ । सम्भवतः असोजबाट ट्याङकरमा सिल प्रणाली सुरु गर्छो ।’ आइओसीले सिलगढीबाट लकिङ सिस्टम जडान सुरु गर्ने उनले बताए ।

निगमका अनुसार मुलुकभरी १८ सय ट्याङकर सन्चालनमा छन् । मध्यमाञ्चलमा एक हजार भन्दा बढी सन्चालनमा रहेका छन् । ती ट्यांकरहरुमा सिल दुई चरणमा जडान गरिन्छ । पहिलो चरणमा आईओसीको डिपोबाट निगमको डिपोसम्म र दोस्रो चरणमा निगमको डिपोबाट बिक्रेता पम्पसम्म सिल गरेर ढुवानी गरिने जनाएको छ ।

आईओसीबाट इन्धन ट्याङकरमा भरेपछि तेल भर्ने र झिक्ने भल्वमा लक (सिल) गरिनेछ । त्यसपश्चात् थानकोट डिपोमा सिल खुला गरिनेछ । निगमका अनुसार ताल्चा नयाँ प्रविधिबाट बनेको छ । यसको नक्कल बनाउन कठिन हुनेछ । ट्यांकर सिल गरेपछि साँचोको जिम्मा आईओसी र निगमको क्षेत्रीय कार्यालय प्रमुखले लिनेछन् । ताल्चाको साँचो गलत ठाउँमा प्रयोग भए कारबाहीको भागिदार पनि प्रमुख नै हुनेछ । ताल्चा खोल्नका लागि एउटा छुट्टै मास्टर चाबी पनि बनाइएको जनाएको छ ।

सिल प्रणालीमा आइओसी सकारात्मक

अहिले मुलुकमा भारतीय आयल कर्पोरेसन्स (आईओसी) बाट मात्रै इन्धन आयात हुन्छ । जसले गर्दा लकि∙ प्रणाली लागू गर्दा आईओसीसँग सहकार्य अनिवार्य हुने निगमका अधिकारीहरु बताउँछन् । ट्याङकरमा लक (सिल) आइओसीकै डिपोमा लगाइन्छ । आईओसीसँग भएको छलफलमा सिल सम्बन्धमा सकारात्मक रहेको निगमले जनाएको छ ।

आइओसीले २३ सय ताल्चा दिने

ट्याङकरमा सुरक्षित सिल जडान गर्न आइओसीले निःशुल्क २३ सय ताल्चा उपलब्ध गराउने भएको छ । निगमका अनुसार आइओसीका अधिकारीहरुसँग पटक÷पटक भएको छलफलमा ताल्चा उपलब्ध गराउने सहमती भएको हो । प्रवक्ता गोइतका अनुसार पहिलो चरणमा ४ सय ताल्चा उपलब्ध गराउने छ । उक्त ताल्चा बनाउनका अनुसार टेण्डर सुरु भइसकेको उनले बताए ।

लकिङ प्रणालीले तीनै पक्षलाई फाइदा

निगमका अनुसार इन्धन चोरी भएका कारणले ट्रान्सपोर्टरहरु बद्नाम भएका छन् । यसले डिलरलाई पनि विश्वसनीयता बढ्ने दाबी छ । पम्प सन्चालकले पनि कम परिमाण इन्धन पाएको गुनासो गर्दै आएका छन् । ट्याङकरबाट कम परिमाणमा पाएपछि सोही अनुसार उपभोक्ताबाट असुल्दै आएका छन् । प्राविधिक नोक्सानी बढी भएको भन्दै उनीहरु निगमले दिदंै आएको कमिशन र प्राविधिक नोक्सानीको सीमा बढाउनुपर्ने माग गर्दै आएका छन् । लकि∙ प्रणालीले ट्याङकरबाट चुहावट पूर्ण रुपमा नियन्त्रण हुन्छ । चुहावट रोकिएपछि सरकारलाई प्राविधिक नोक्सानी पहिचान गर्न सजिलो हुन्छ । पम्प सन्चालकले पूरा परिमाणमा इन्धन प्राप्त गरे उपभोक्ताहरु पनि ठगीबाट बच्नेछन् ।

तेल भर्ने र झिक्ने भल्बमा सिल

नेपालमा करिब २० किलोलिटरसम्म इन्धन बोक्ने ट्यांकर छन् । ती ट्यांकरमा ४ देखि ५ चेम्बर हुन्छन् । एउटा चेम्बरमा ३ हजारदेखि ५ हजार लिटरसम्म इन्धन बोक्न सकिन्छ । ती चेम्बरमा लक गरिने निगमले जनाएको छ । आईओसीबाट इन्धन ट्यांकरमा भरेपछि तेल भर्ने र झिक्ने भल्बमा लक (सिल) गरिने छ । त्यसपश्चात थानकोट डिपोमा सिल खुला गरिने जनाएको छ । यसरी सिल लगाउँदा चोरी र मिसावट अन्त हुने जानकारहरु बताउछन् ।

सूचना मार्फत निर्देशन

इन्धन ढुवानी पारदर्शी र व्यवस्थित बनाउन निगमले गत मसिरमा पत्रपत्रिकामा सूचना प्रकाशित गरी व्यवसायीलाई निर्देशन दिएको थियो । तर, कार्यान्वयन भएन । निगमले वैशाखबाट पुन लागू गर्ने जनाएको थियो । तर, हालसम्म लागू हुन सकेको छैन । लकिङ प्रणाली जडान गर्न व्यवसायीहरुको सहयोग भएपनि कार्यान्वयन हुन सकेको छैन ।

‘इन्धन ढुवानी पारदर्शी र व्यवस्थित बनाउन पत्रपत्रिकामा सूचना प्रकाशित गरी व्यवसायीलाई निर्देशन दिएको थियो । सबै ट्याङकरमा कार्यान्वयन अनिवार्य हुनुपर्ने उल्लेख थियो,’ निगमका एक अधिकारीले भने, ‘तर, विभिन्न बहानामा ढिलाइ भएको छ ।’ यता, व्यवसायीहरुले भने निगमकै कारण ढिलाई भएको दाबी गर्छन् ।

‘लकि∙को बिषयमा व्यवसायीहरु सकारात्मक छ,’ अध्यक्ष लिलेन्द्र प्रधानले भने, ‘तर, निगमको इच्छाशक्तिका कारण कार्यान्वयनमा ढिलाई भएको छ ।’ सरकारी निर्देशन अनुसार नयाँ बनेको ३ सय ६० ट्याङकरमा सिल जडान भएपनि कार्यान्वयन भने हुन सकेको छैन ।

लकिङ प्रणालीका प्राविधिक कठिनाई

निगमका अनुसार लकिङ प्रणालीका लागि प्राविधिक कठिनाइहरु पनि छन् । ट्याङकरमा सुरक्षित सिल जडान गर्नका लागि ट्याङकर भारत लैजानुपर्छ । सबै ट्यांकर पठाउदा आपूर्ति व्यवस्थापनमा समस्या पैदा हुनसक्ने व्यवसायीहरु बताउँछन् । अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका ट्याङकर सन्चालनमा छन् । लकि∙ प्रणालीका लागि पालैपिच्छै पठाउँनु पर्छ । सिल लगाउँदा क्षेत्रगत रुपमा सुरु गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । ‘झापामा क्षेत्रमा करिब ५० देखी ६० ट्याङकरहरु छन्,’ अध्यक्ष प्रधानले भने, ‘सुरुवात त्यहाँबाट गर्नुपर्छ ।’

कार्यान्वयनमा आलटाल

निगमले यसअघि जेठ महिनाबाटै सुरु गर्ने जनाएको थियो । तर, बिभिन्न कारण देखाउँदै ढिलाइ गर्दै आएको छ । लकि∙ प्रणाली प्रभावकारी रुपमा कार्यान्वयन गर्न निगमका निर्देशक ई. वीरेन्द्र गोइतको संयोजकत्वमा कार्यान्वयन टोली गठन भएको थियो । ‘भारतीय आयल निगम (आईओसी) लाई मे १५ देखि २५ सम्मको समय दिएका छांै,’ जेठ महिनामा निर्देशक गोइतले भनेका थिए, ‘आईओसीले ताल्चाका लागि अर्डर गरिसकेकाले इन्धन भर्न गएको ट्यांकरमा लक गरेर इन्धन पठाउनेछ ।’ कमिटीमा पेट्रोलियम व्यवसायी पनि सदस्य छन् ।

एशोसिएशनको देखावट इच्छा

पेट्रोलियम व्यवसायीहरुले बाहिरी रुपमा कार्यान्वयन गर्ने हल्ला गरेपनि भित्री इच्छा भने देखाएको छैन । निगमका अनुसार एक बर्षअघि झापाको रुट (झापा सिलगुडी) का लागि ५५ वटा ट्याङकरमा बनाउन भनिएको थियो । ती ट्यांकर नमूनाका लागि बनाउन भनिएको थियो । तर, हालसम्म कार्यान्वयन हुन सकेको छैन । ‘सिल लगाउँदा मिसावट गर्ने र चोरी गर्ने बाटो नै बन्द हुन्छ,’ एक व्यवसायीले भने, ‘त्यसैले कार्यान्वयन गर्न आलटाल भएको छ ।’

५ गुणा जरिवाना कार्यान्वयन भएन

ट्याङकरबाट इन्धन चोर्ने व्यक्तिलाई ५ गुणा क्षतिपूर्ति जरिवाना गर्ने दाबी गरेपनि हालसम्म एक जना व्यवसायी कारबाहीको दायरामा पर्न सकेको छैन । निगमले ‘पेट्रोलियम पदार्थको ढुवानी विनियमावली’ मार्फत जरिवाना गर्ने जनाएको थियो । उक्त विनियमावली निगम सन्चालक समितिले गत पुष महिनामा स्वीकृति गरिसकेको छ । यी बाहेक निलम्बन गर्ने, कारोबारमा रोक लगाउने सक्ने अधिकार विनियमावलीमा छ ।