निगम भन्छ–तेलको अभाव छैन, आत्तिनु पर्दैन

0
1

काठमाडौं, असार १३ – काठमाडौं उपत्यका भित्रका पेट्रोल पम्पमा अहिले गाडी तथा मोटरसाईकलमा पेट्रोल तथा डिजेल हाल्नेको लामो लाइन लाग्न थालेको छ । पेट्रोल व्यवसायीले यहि असार २० गतेदेखि पेट्रोलको खरिद बिक्री नगर्ने चेतावनी दिएपछि उपभोक्ता तेलका लागि लाइनमा बसेका हुन् । हल्लाकै भरमा तेलको अभाव भएको भन्दै उपभोक्ता लाईनमा बसेका छन् ।  ‘खै सबै जना लाइनमा बसेका छन्, त्यसैले म पनि तेल हाल्नका लागि लाइनमा बसेको’ सुन्धाराको पेट्रोल पम्पमा पेट्रोल हाल्न लाइनमा बस्नुभएका अनिश दाहालले भन्नुभयो ‘२० गतेदेखि पेट्रोल व्यवसायीको आन्दोलन पनि भएकोले तेल अभाव हुन्छ होला भनेर पनि हो ।’ बन्द हड्ताल तथा व्यवसायीको आन्दोलनका कारण बेला बेला उपभोक्ताले समस्या भोग्नु परेको छ । पटक पटकको आन्दोलनमा समस्या भोगेका उपभोक्ताले आफ्नो लागि तेल जोहो गर्न लागि सकेका छन् ।  पेट्रोलको अभाव किन भयो, किन पेट्रोल पम्पहरु बन्द भए भन्ने जानकारी उपभोक्तालाई हुँदैन । बन्द भएका पेट्रोल पम्प देखेका नागरिक कोही पेट्रोलका लागि लाइन बसेको देखे भने सँगै बिना कारण लाइनमा थपिन पुग्छन् । ‘हल्ला कै भरमा लाइनमा बस्छन्’ कीर्तिपुरका विमल खड्का भन्नुहुन्छ ‘के कारणले तेलको अभाव भएको भन्ने बारे कसैले सोध खोज गर्दैनन् ।’ उपभोक्ताको समस्या सरकारले र व्यवसायीले नबुझ्दा उपभोक्ताले समस्या भोग्नुपरेको उहाँको गुनासो छ । अहिले तेल अभावका कारण यस्तो काठमाडौंका धेरै पेट्रोल पम्पहरु बन्द छन् । दुई दिनदेखिको लगातार बिदाको कारण तेल वितरण गर्न नसकेका पम्प सोमबारदेखि मात्र खुल्दा भिड देखिने गरेको छ । त्यती मात्र होइन बुधबार हुने दोस्रो चरणको स्थानीय तहको चुनाव र असार २० गतेदेखि व्यवसायीले गर्ने भनिएको आन्दोलनका कारण पनि पेट्रोल भर्नेको लामो लाइन हुने गरेको छ । नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेल र राष्ट्रिय पेट्रोलियम डिलर्स एशोशिएसन नेपालका महासचिव विश्वप्रसाद अर्यालले अहिले नै तेलको अभाव भने नभएको बताउनुभएको छ । उहाँहरुका अनुसार २० गते गर्ने भनिएको आन्दोलनले उपभोक्तामा तेलको अभाव महशुस भएपनि बजारमा तेल वितरण भइरहेको छ । हल्ला कै भरमा तेलको लाइनमा नबस्न र तेल संचित नगर्न पनि उहाँहरुको आग्रह रहेको छ । किन हुँदै छ असार २० देखि आन्दोलन ‘सिंकेज र वर्किङ लस’ धेरै भएकोले बाग्मती पेट्रोलियम डिलर्स एशोशिएसन यहि असार २० गते देखि पेट्रोलको खरिद बिक्री नगर्ने घोषण गरेको छ ।

आयल निगमले पठाउने चार हजार लिटर तेलमा झण्डै सय लिटर जति तेल अपुग हुन्छ । नेपालमा पनि अन्तर्राष्ट्रिय मापदण्डका यूरो–४ का तेल आउन थालेपछि व्यवसायीहरु मर्कामा पर्न थाले । जसको सुनुवाइका लागि व्यवसायीले पटक पटक सरकारसँग आग्रह गर्दापनि सुनुवाई नभएको राष्ट्रिय पेट्रोलियम डिलर्स एशोशिएसनका महासचिव विश्वप्रसाद अर्यालले बताउनुभयो ।  ‘हामीले आन्दोलन नै गर्न खोजेका होईनौं, हामी बन्द हड्ताल विरोधी भएकोले बन्दहड्तालमा जाँदैनौं’ उहाँले भन्नुभयो ‘अहिलेको अवस्थामा तेल बेच्दा हामी व्यवसायी फाइदामा जानै सक्दैनौं त्यसैले पेट्रोलको चाहिँ खरिद विक्री नगर्ने भनेका हौं ।’ उहाँले डिजेल भने बिक्री वितरण गर्ने बताउनुभयो । विभिन्न समयमा सरकारलाई आफूहरुले आफ्नो समस्याका बारेमा ध्यानाकर्षण गराए पनि आफ्नो कुरामा सरकार गम्भिर नभएको व्यवसायीको आरोप छ । उनीहरुका अनुसार चुनावकै कारण आन्दोलन सरेको हो । आफूहरु नाफका लागि काम गर्ने भएकोले घाटा खाएर तेल बेच्न नसक्ने व्यवसायीले बताएका छन् । आफूहरुले बेहोरेको प्राविधिक घाटाको कुनै सम्बोधन नभएकोले आन्दोलनमा उत्रनुपरेको व्यवसायीले बताएका छन् । तेलको अभाव साच्चै हो त ? काठमाडौंका सबै पेट्रोल पम्पमा उपभोक्ता लामो लाइनमा बसेका छन् जहाँ तेलको विक्री वितरण भएको छ । आयल निगमले भने तेलको अभाव नभएको बताएको छ ।

नेपाल आयल निगमले मंगलबार मात्र काठमाडौंमा नौ लाख लिटर तेल बिक्री गरेको बताएको छ । इन्डियाबाट तेल आई रहेकोले तेलको अभाव नभएको नेपाल आयल निगमका प्रवक्त सिताराम पोखरेलले बताउनुभयो । काठमाडौंका उपभोक्ता भने आफूलाई सहज हुने गरी तेलको संचित गर्न तर्फ लागि सकेका छन् ।  उज्यालो अनलाइनसँग कुरा गर्दै प्रवक्ता पोखरेलले व्यवसायीले गर्ने भनेको आन्दोलनलाई २० गते अगाडि नै वर्ता मार्फत सम्बोधन गर्ने बताउनुभयो । उहाँले अहिले नै आत्तिएर तेलको लाइनमा बस्नु पर्ने अवस्था नभएको बताउनुभयो । उहाँका अनुसार तेलको अभाव नभएकोले अहिले नै संचित गरिहल्नु पर्ने अवस्था पनि छैन । तर उपभोक्ताले भने व्यवसायी र सरकार बिचको नाफा घाटाले आफूहरु मारमा पर्ने गरेको गुनासो गरेका छन् ।