पच्चीस सब-स्टेसन थप्दै – प्राधिकरण

0
2

काठमाडौँ, कात्तिक २६ गते ।  नेपाल विद्युत् प्राधिकरणले गुणस्तरीय, सुरक्षित विद्युतीय सेवा प्रवाह तथा सेवा विस्तार गर्नका लागि सव स्टेसन निर्माण र प्रसारण लाइन मर्मत सम्भार गर्ने कामको थालनी गरेको छ ।

बिजुली पुगेको ठाउँमा समेत बिजुली आउने जाने भइरहने र आएको बिजुली पनि मधुरो हुने तर ग्राहकले उठेको महसुल तिर्नैपर्ने विषय चौतर्फी टीकाटिप्पणी हुन थालेको अवस्थामा प्राधिकरणले गुणस्तरीय विद्युत् प्रवाह गर्ने र थप सेवा विस्तार गर्ने योजना अगाडि बढाएको हो ।

ग्राहक सङ्ख्या निकै बढी भइसकेका तर सवस्टेसनको क्षमताले धान्न नसक्ने अवस्थाको पहिचान गरी यो कार्यक्रमलाई सञ्चालन गर्न थालिएको हो ।  आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार देशभरका विभिन्न ठाउँका २५ वटा नयाँ ३३/११ केभी क्षमताका सवस्टेसन निर्माण गरिने भएका छन् ।  यी सवस्टेसन निर्माणले विद्युत् प्रवाहलाई नियमित गर्न मद्दत गर्नेछ ।  उहाँले भन्नुभयो, हामीले नयाँ सवस्टेसन निर्माणका लागि ठेक्का सम्झौता गरी ४० प्रतिशत जति काम सम्पन्न भइसकेको छ, आगामी एक वर्षभित्रै यी सवस्टेसनको निर्माण कार्य पूरा हुने गरी सम्झौता भएको छ ।

त्यसैगरी पुराना सवस्टेसनको क्षमता सुदृढीकरण गर्ने कार्यलाई पनि एकैसाथ अगाडि बढाइने भएको छ ।  निर्देशनालयका अनुसार यहीँ समयमा विभिन्न ठाउँमा रहेका पुराना ११ वटा सवस्टेसनको क्षमता सुदृढीकरण गर्न लागिएको छ ।

सवस्टेसन निर्माण र प्रसारण लाइनको मर्मत सम्भार गरेपछि नयाँ दुई लाख ग्राहकलाई हालकै अवस्था विद्युत् वितरण गर्न सकिने लक्ष्य प्राधिकरणले लिएको छ ।  निर्देशनालय प्रमुख सिलवालले भन्नुभयो, वितरण लाइन र सवस्टेसन ओभरलोड भएकाले गुणस्तरीय विद्युतीय सेवा प्रवाह गर्न सकिएको थिएन, अब यी समस्या समाधान हुनेछन् ।
पुराना सवस्टेसन र प्रसारण लाइन भएकाले प्राविधिक चुहावट अधिक हुने गरेको छ ।  हालको प्रसारण लाइन र सव स्टेसनका कारणले २५ प्रतिशत भन्दा बढी विद्युत् चुहावट हुने गरेको प्राधिकरणका अध्ययनले देखाएको छ ।
ऊर्जा मन्त्रालयमा मन्त्री, सचिव फेरिँदा र प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक आउँदा प्राविधिक चुहावट नियन्त्रण गर्ने प्रतिवद्धता गर्ने गरिन्छ ।  प्राधिकरणले हरेक वर्ष प्राविधिक चुहावट नियन्त्रणलाई विशेष कार्ययोजनाका रूपमा प्रस्तुत गर्ने गरेको छ तर प्राविधिक चुहावट नियन्त्रणमा खासै प्रगति भएको देखिँदैन ।