पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

0
1

असार १९, २०७४- इन्धन ढुवानीको क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपर्ती बढाउन माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका पेट्रोलियम व्यवसायीले बन्दका कार्यक्रम फिर्ता लिएको छ । व्यवसायीको समस्या समधान गर्न आयल निमग सञ्चालक समितिले तत्परता देखाएको भन्दै पेट्रोलियम खरिद नगर्ने कार्यक्रम स्थगन गरेको हो ।

‘प्राविधिक नोक्सानको क्षतिपूर्ती बढाउने काममा निगमले तत्परता देखाएको छ ।  निगमले असार मसान्तभित्र  समस्या समाधन गरिदिने प्रतिबद्धता जनाएकाले उपभोक्ताप्रति जिम्मेबार हुँदै असार २० गतेबाट घोषणा गरिएको पेट्रोल खरिद नगर्ने कार्यक्रम आजैको मितिबाट फिर्ता लिन्छौं,’ बागमती पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष अच्युत खड्काले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।

व्यवसायीको माग सम्बन्धमा  निगमका कार्यकारी निर्देशक गोपाल खड्काले पनि सोमबार पत्रचार गरेर आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो । ‘माागलाई सम्बोधन गर्नका लागि निगम सकरात्मक छ । यस सम्बन्धमा वर्किङ तथा श्रीङकेज (प्राविधिक नोक्सानी)लाई पूर्ननिर्धारण गर्ने विषयमा निगम सञ्चालक समितिको स्वीकृती आवश्यक हुने भएकाले गुणस्तर तथा नापतौल विभागबाट प्राप्त अध्ययन प्रतिवेदनको आधारमा उक्त बिषयलाई असार समान्तभित्रै निगम सञ्चालक समितिको बैठकमा पेश गरी समितिबाट स्वीकृती लिई पुननिर्धारण गरिनेछ’ निगमले व्यवसायीलाई पत्रचार गरेको पत्रममा भनिएको छ ।  निगमको लिखित प्रतिबद्धता पश्चात व्यवसायीले आन्दोलन फिर्ता लिएको जनाएको छ ।

व्यवसायीले ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा करिब ८५ लिटर प्राविधिक नोक्सानी हुने, नोक्सानीको भरपाई निगमले गर्नुपर्ने माग गर्दे आएका छन् । हाल निगमले ४ हजार लिटरमा ३५ लिटर नोक्सानी दिँदै आएको छ ।  सरकारले असारभित्र सम्बोधन नगरे साउनदेखि पुन आन्दोलन गर्ने व्यवसायीले चेतावनी दिएका छन् ।

copied from : ekantipur.com.np