१८ वर्षमा बल्ल आउने भयो चमेलिया जलविद्युत

0
11

अन्य जलविद्युत आयोजना झै ढिलासुस्ती एवं चलखेलको शिकार लगभग बनिसकेको चमेलिया जलविद्युत आयोजना अन्ततोगत्वा उत्पादनको चरणमा पुगेको छ । आयोजना निर्माण संगै यसको परीक्षण उत्पादन पुष महिनामा शुरु हुने खबर आउनु निश्चय पनि लोडसेडिङमा बर्षौदेखि पिल्सिएर बसेका नेपाली जनताका लागि सुखद समाचार नै हो । बल्लतल्ल गत वर्षबाट केही मात्रामा भए पनि लोडसेडिङबाट त्राण पाएका नेपाली जनतामा फेरि पनि लोडसेडिङ हुने हो कि भन्ने अन्यौलता रहेकै बेला यस्तो समाचार आउनुले केही मात्रामा आशाको संचार उत्पन्न गरेको भने अवश्य छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको निर्माण विं. सं. २०६४ सालदेखि चाइना गेजुवा ग्रुप अफ पावर कम्पनी (सीजीजीसी) ले गरिरहेको छ । विं.सं. २०६३ पुषमा आयोजनाको सिभिलतर्फको सबै काम चिनियाँ कम्पनी सिजिजिसीलाई दिइएको थियो । इन्टेक, टनेल, बाटो र पावरहास लगायतका सिभिलको काम चिनको चाईना गेजुवा ग्रुप (सिजिजिसि) कम्पनीले गरेको थियो भने टावर निर्माणको काम कोरियन कम्पनी (केएचएएफपि) ले गरेका थियो ।

चमेलिया जलविद्युत सम्बन्धी कामको शुरुवात भने २०५६ सालबाट नै भएको हो । नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त प्रयासबाट आयोजना निर्माणस्थलसम्म १८ कि।मी। लामो सडक र चारवटा पुल लगायतका पूर्वाधारको काम सोही वर्ष सम्पन्न भए पनि माओवादी जनयुद्धका कारण निर्माण कार्य झण्डै पा“च वर्ष अवरुद्ध हुन पुगेको थियो । शुरुमा निजी क्षेत्रको संलग्नताबाट निर्माण कार्य गराउने अवधारणाका साथ थालनी गरिएको आयोजना पछि स्थानीयको विरोधका कारण सरकारीस्तरबाट नै सम्पन्न गर्ने निर्णय भएको थियो । ३० मेगावाटको उक्त जलविद्युत आयोजनाको उत्पादनबाट स्थानीय जनताकोे माग बमोजिम वितरण गरी बा“की रहन जाने विद्युत् भने राष्ट्रिय प्रसारण लाइन मार्फत् पठाइने सरकारको योजना रहेको छ ।

२०६४ सालको माघ महिनाबाट काम थालेको सिजिजिसीले २०६८ सालको पुष महिनासम्ममा काम सक्ने लक्ष्य राखिएको भनिएता पनि आयोजनाको निर्माण कार्य लगभग छ वर्ष पछिमात्र आएर हाल अन्तिम चरणमा पुगेको छ । यद्यपि आयोजना निर्माण कार्यमा भएको ढिलाइलाई विविध कारणसंग जोड्ने गरिएको छ ।

आयोजनामा आर्थिक विकास साझेदारी कोष (इडिसिएफ) मार्फत् नेपाल सरकार र दक्षिण कोरिया सरकारको संयुक्त लगानी रहेको छ । ढिलाइका कारण आयोजनाको शुरुको अनुमानित लागत ८ अर्ब ५४ लाख रहेकोमा लागत हाल बढेर रु १५ अर्ब नाघेको छ । चमेलिया जलविद्युत आयोजनाका अनुसार सिभिलको काममा ५ अर्ब २४ करोड, हाइड्रो इलेक्ट्रो मेकानिकलमा ३ अर्ब ९७ करोड, सव स्टेशन निर्माणमा १४ करोड ८३ लाख, आयोजना प्रभावितलाई मुआब्जा दिनमा १४ करोड ९१ लाख, भवनमा ६ करोड खर्च भएको छ । करीब तीन वर्ष अघि निर्माणको क्रममा आयोजनाको कुल ६ सय ११ मिटर सुरुङ खनेकोमध्ये २ सय ३२ मिटर खुम्चिएको थियो । खुम्चिएको सुरुङ खोल्न मात्रै १ अर्ब खर्च भएको बताइएको छ ।

पछिल्लो पटक कात्तिक २१ गते परीक्षण प्रसारण शुरु गर्ने भनिएको चमेलिया जलविद्युतको विद्युत गृहमा अवस्थित रेडियल गेटमा समस्या उत्पन्न भई बन्द गर्न नसकेपछि प्रस्तावित परीक्षण १५ दिन पछि सारिएको छ ।

आयोजनाको निर्माण कार्यमा ढिलाइ, भौगोलिक रुपमा टाढा रहेको, बैतडी र दार्चुलामा प्रसारण लाइन विस्तार गर्दा लागत खर्च बढेको आयोजना सम्बन्धित कर्मचारी बताउँछन् । चमेलिया आयोजनाले बनाएको बलांच सवस्टेशनमा अपि र चमेलियाद्वारा उत्पादित विद्युत एकै ठाँउमा जोडिन्छ । उक्त सवस्टेशनबाट अन्यत्र वितरण हुने प्रसारण लाइन बनाउनु पर्नेमा हाल त्यहाँबाट खलङ्गा र मार्मा जाने लाइन लगभग अन्तिम चरणमा छ । यी प्रसारण लाइनहरुको निर्माण कार्य खलङ्गामा अवस्थित दार्चुला वितरण केन्द्रले गरिरहेको छ ।

यस बाहेक भmण्डै ३ वर्ष अघि संसदको सार्वजनिक लेखा समितिले भेरियसन मूल्यांकनमा भ्रष्टाचार भएको आशंकामा बीचैमा काम रोक्न निर्देशन दिएपछि आयोजनाको निर्माण १ बर्ष रोकिएको थियो । २०७१ साल माघ २७ गते देखि बन्द भएको सुरुङ मर्मतको काम २०७३ साल आश्विन १२ गते बाट मात्रै पुनः शुरु भएको थियो ।

आयोजना निर्माण कार्य ढिलाइमा प्राविधिक कारणका अतिरिक्त निर्माण कार्यको जिम्मेवारी लिएको गेजुवा कम्पनी तथा सरकारको कामकाजी ढिलासुस्ती पनि कारक तत्वको रुपमा देखिएको छ । सुरुङको खुम्चिएको भाग खोल्न ठेकेदार कम्पनीद्वारा माग गरिएको थप रु १ अर्ब ९ करोड शुरुमा सरकारद्वारा दिन अस्वीकार गरिए पनि पछि नेपाल विद्युत प्राधिकरणले माग गरिएको मध्ये केही रकम दिन सहमति जनाएपछि काम सुचारु गरिएको थियो । तर प्राधिकरणले सुरुङ खुम्चिएको विषय छानबिन नगरी ठेकेदारलाई थप रकम भुक्तानी दिने सम्बन्धमा गरेको निर्णय विवादमा परेको थियो । गलत तवरले भुक्तानी दिन लागिएको भन्दै लेखा समितिले २०७१ असार १० गते ऊर्जा मन्त्रालयलाई छलफलमा बोलाएको र १७ गतेको बैठकले छानबिन नगरिकन ठेकेदारको मागअनुसार रकम नदिन निर्देशन दिएको थियो । यस्तै सोही वर्षको चैत १ गतेको समितिको बैठकले पुनः छानबिन समिति बनाएर समितिको प्रतिवेदनका आधारमा मात्रै अगाडि बढाउन र आवश्यक अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको थियो । तर प्राधिकरणले सोही निर्णयले भुक्तानी रोकिएको र लेखा समितिले काम रोक्यो भन्दै सार्वजनिक अभिव्यक्ति दिदै आएको थियो ।

प्राधिकरणले सन् २००६ को ठेक्का सम्झौतामा उल्लेख नभएको नयाँ कामका लागि ६ वर्षअघिको मूल्यमा काम गर्न नमानेको भन्दै सन् २०१३ को प्रचलित दरअनुसार काम दिएको र अगी्रम भुक्तानी मात्र दिएको जनाएको थियो । आयोजनाको भेरिएसन अर्डरबापत ८२ करोड ९३ लाख रुपैयाँ लाग्नुपर्ने भनिएपनि प्राधिकरणले एक अर्ब नौ करोड रुपैयाँ भुक्तानी दिन लागेको थियो । जसका कारण प्राधिकरण विवादमा तानिएपछि निर्माण कार्यमा थप ढिलाइ हुन पुगेको थियो ।

यस्तै गत जेठ महिनाको पहिलो साता ड्राई परीक्षण गर्ने भनिएकोमा दक्षिण कोरियाबाट प्राविधिक टोली आउन ढिलाइ भएपछि परीक्षणको काम समेत लगभग महिनादिन जति पछि धकेलिएको थियो ।

पछिल्लो समयमा भने सरकार तथा सरोकारवाला संस्थाद्वारा चासो बढाउनाका कारण पनि आयोजना निर्माण कार्यमा केही तदारुकता देखिन सम्भव भएको हो । ऊर्जा मन्त्रालयले गत २२ सेप्टेम्बरमा सन् २०१७ को डिसेम्बरमा आयोजना सम्पन्न गर्न निर्देशन दिएको थियो । यसअघि सिजिजिसि, ऊर्जा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र आयोजनाको कन्सल्टेन्ट कम्पनी शाह कन्सल्ट इन्टरनेशनल बीच भएको त्रिपक्षीय सम्झौतामा पनि यस आयोजनाको निर्माण कार्यलाई तीब्रता दिन कार्यतालिका बनाई अघि बढ्नेमा सहमति भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी हिउँदको लोडसेडिङ कम गर्न चमेलिया महत्वपूर्ण मानिएको बताएका छन् । आगामी हिउदको लोडसेडिङ कम गर्न यसले केही मात्रामा सहयोग पुर्याउने हुँदा पनि बाँकी काम चाडो सम्पन्न गरी सञ्चालनमा ल्याउन राष्ट्रियस्तरमा तदारुकता देखिएको छ ।

चमेलिया जलविद्युत आयोजना नै किनरु

नेपालको सुदूर पश्चिम क्षेत्रमा जल विद्युत क्षेत्रमा संभावित ठूला आयोजनाको रुपमा पश्चिम सेती र पंचेश्वर आयोजना रहेका छन् । यी आयोजनाको विकास गर्न नेपाल सरकारले चाहे तापनि लगानी तथा अन्य विभिन्न कारणबाट गर्न सकेको छैन । विद्युत क्षेत्रबाहेक अन्य क्षेत्रमा पनि सुदूर पश्चिम क्षेत्र पछाडि नै रहेको छ । यस्तोमा मझौला स्तरको चमेलिया विद्युत आयोजना सुदूरपश्चिम क्षेत्रको लागि एउटा आशाको रुपमा देखा परेको छ । सो क्षेत्रका जनता, जनप्रतिनिधि र सरकारले समेत यसलाई प्राथमिकतामा राखेका छन् । यो आयोजना संचालनमा आएमा विद्युत उत्पादन मात्र हैन विद्युत प्रसारण र विद्युत वितरणमा सुदूर पश्चिम क्षेत्रलाई ठूलो योगदान पुग्ने कुरामा दुईमत छैन् । साथै यसको निर्माण पश्चात् यसको पूर्वाधार विकासको कारणले अन्य आयोजनाहरु विकसित भै देशलाई नै ठूलो योगदान दिने प्रचुर सम्भावना बोकेको यो आयोजना सञ्चालन ले वर्षौदेखि विकासको गतिमा अन्य क्षेत्रभन्दा निकै पछि परेको सुदूर पश्चिम क्षेत्रलाई नै उकास्न मद्दत पुग्ने देखिन्छ । आयोजनाबाट उत्पादन पश्चात १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

चमेलिया जलविद्युत आयोजनाको अर्को विशेषता भनेको यसको उत्पादन प्रणालीमा आवश्यकता अनुरुप बाँध बाँध्न सकिने हुंदा यस आयोजनाले सुख्खायामको समयमा पनि दैनिक ६ घण्टा पुरा विद्युत प्रसारण गर्न सक्ने छ । धेरैजसो आयोजनाहरुमा सुख्खायामको समयमा २५ देखि ३० प्रतिशत मात्रै विद्युत् प्रवाह हुन्छ । प्रचुर सम्भावना बोकेको भएता पनि विभिन्न कारणले गर्दा उत्पादन खर्चमा बढाएको लागत, निर्माण कार्यमा सुस्तता र आर्थिक अनियमितताका कारण यस आयोजनाले बोकेका लाभको क्षेत्र ओझेलमा पर्न गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here