एडीबीका परियोजना अवलोकन

0
347

झापा-एशियाली विकास बैंक (एडीबी)को टोलीले झापा मेचीनगर नगरपालिका—१४ दुहागढीमा रहेको हडिया रेगुलेटर सिँचाई आयोजनाको स्थलगत अवलोकन गरेको छ ।
एडीबीले लगानी गरेका आयोजनाबाट स्थानीयले प्रत्यक्षरुपमा लाभ लिएका छन् या छैनन् भन्ने विषयमा सम्बन्धित उपभोक्तासँग जानकारी लिनु अनुगमनको उद्देश्य रहेको टोलीकी विनिता खड्काले बताइन् । बैंकले लगानी गरेका आयोजनामध्ये हडिया सिँचाई आयोजना नमुनाका रुपमा रहेको उनले प्रष्ट पारिन् । सीएमआईएसपीका प्रमुख नुर मोह्मद खानले १९८९ देखि नेपालमा एडीबीको सहयोगमा धरै योजना सञ्चालनमा रहेको बताए । उनले आफ्नो कार्यालयले संरचना सहित मर्मत सम्भारका बारेमा विभिन्न समयमा तालिम प्रदान गरेको र यसलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाए ।

मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यले यो सिँचाइबाट नगरका कृषकले प्रत्यक्ष लाभ लिन सक्ने बताए । अबको युग आर्थिक क्रान्तिको भएको भन्दैं स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेको, कृषिलाई प्रविधिमैत्री बनाएर निर्वाहमुखी कृषिबाट व्यवसायिक कृषिमा फड्को मार्नु पर्ने र कृषिको परनिर्भर अन्त्य गर्नुपर्ने बताए । उनले नेपाली कृषि वस्तुको निर्यातमा जोड समेत दिए ।
उपप्रमुख मिना पोखरेलले सिँचाईको निर्माण कार्य सम्पन्न भए पछि यसको रेखदेखको जिम्मा उपभोक्ताले गर्नुपर्ने बताइन् । डिभिजन सिँचाई कार्यालय झापाका डिभिजन इन्जिनियर कृष्णप्रसाद राजवंशीले आयोजनको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । उक्त आयोजनाबाट ४ हजार ५५५ व्यक्ति लाभान्वित हुने छन् । आयोजनाको बाँकी काम धमाधम भइरहेको उपभोक्ता समिति सचिव अनिल ढुंगानाले बताए ।
उपभोक्ताले सिँचाइ पछि उब्जनी बढे पनि किसानले उत्पादन गरेको कृषि वस्तुले उचित मूल्य नपाएको गुनासो गरेका थिए । आफूले उत्पादन गरेको कृषि उपजको बजारीकरणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेका थिए । आयोजना सञ्चालन भएपछि हरेक वर्खायाममा हडिया खोलामा आउने बाढीले पैनीको मुहान भत्काउने समस्यााबट मुक्त भएको किसानको भनाइ छ । उपभोक्ताका तर्फबाट विश्व थापा, गंगादेवी भुजेललगायतले सुझाव राखेका थिए । टोलीले आयोजनाको मुहानकोसमेत अवलोकन गरेको छ ।
आयोजनाका अध्यक्ष शंकरप्रसाद पोखरेलले ७ करोड २१ लाख ४१ हजार ७ सय आयोजनाको स्वीकृत रकम भएपनि ५ करोड २२ लाख ७१ हजार रुपैयाँमा मैनाचुली सफल सरोज जेभी दमकले ठेक्का लिएको बताए । त्यसमा उपभोक्ताको धरौटी रकम प्रतिविघा २ हजार रुपैयाँका दरले ४ लाख रुपैयाँ रहेको, उपभोक्ताले प्रतिविघा ३५ का दरले रकम संकलन गरेको तथा पानीको बाडफाँड संरचना सातवटा स्थानबाट भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
आयोजनाबाट ९५२ घरधुरीले प्रत्यक्ष लाभ लिन सक्ने छन् । तात्कालीन दुहागढी गाविसका १, ७ र ८ नम्बर वडाको ३५० हेक्टर जमिनमा सिँचाई सुविधा उपलब्ध हुने छ । दुहागढीको ६ र ९ कोबीचमा हडिया खोलाको पानी बाँध बनाएर तीनवटामा ंिसँचाइ गर्ने लक्ष्य छ ।
उपभोक्ता समितिबाट १६ वटा फुट ब्रिज, भीआरबी १३ वटा, मुख्य कुलोको लम्बाई ७ मिटर, पक्की नहर २ हजार ४ सय मिटर, मुल नहर र १ हजार ७ सय मिटर शाखा नहर बन्ने छ । आयोजनामा निर्माण र गुनासो व्यवस्थापन उपसमिति गठन समितिका कोषाध्यक्ष अभिनारायण मैनालीले बताए ।