विजयसागर प्रधान
अध्यक्ष , इभेन्ट सोलुसन
इभेन्ट सोलुसनको व्यवस्थापनमा हुन गई रहेको हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा रहेको छ । गत वर्षबाट थालिएको यस एक्स्पो नेपाली जलविद्युत बजारमा रुची राख्नेहरुको महाकुम्भ हो । प्रस्तुत छ , यछि माघ ४ गतेबाट शुरुहुन गइरहेको हाइडो को तयारीका विषयमा रही इभेन्ट सोलुसनका अध्यक्ष विजयसागर प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश ।
हाइड्रो एक्सपो २०१९ को तयारी कस्तो हुँदैछ ?
हाइड्रो एक्सपो २०१९ को तयारीको रुपमा हामीले जुन जुन कार्यक्रम गर्ने भनेका थियौं त्यसको तयारी तथा त्यसलाई पूर्णता दिन लागिपरेका छौं । हाइड्रो एक्स्पो नेपाली जलविद्युत बजारमा रुची राख्नेहरुको महाकुम्भ हो । मूख्यतया स्टल बुकिङ्गका साथै विभिन्न प्रचार प्रसारका माध्यमबाट कार्यक्रमको प्रवद्र्धन गर्ने काम भइरहेको छ । विगतको भन्दा उत्कृष्ट तवरबाट एक्स्पो सम्पन्न गर्न हामी कृयाशिल छौ ।
एक्स्पोले नेपाली उर्जा बजारमा कस्तो खालको परिवर्तन ल्याउने आशा गर्न सकिन्छ ?
एक्सपो जुन उद्धेश्यकका साथ आयोजना गरिन्छ सो संग सम्बन्धित सबै सूचना एवं जानकारी दिने एक्सपोको मूख्य लक्ष्य रहन्छ । साथै, जुन क्षेत्रमा त्यसको आवश्यकता महशुस गरिन्छ त्यहाँ नै आयोजना गरिन्छ । १०७ वर्षको इतिहासमा हामी जलविद्युतमा जम्मा १ हजार मेगावाटमा पुगेका छौं । यहाँ त्यसको सम्भावना पनि उच्च रहेको र हामीले हाम्रो लक्ष्य पनि १५ हजार मेगावाट बनाउने भनेर घोषणा पनि गरिसकेका छौं । हामीकहाँ त्यो बजारको सम्भावना देखिएकोले नयाँ विचार र प्रविधि देखि टर्वाइन आपूर्तिकर्ता, विभिन्न रसायन आपूर्तिकर्ता लगायत जलविद्युत संग सम्बन्धित अन्य सामानहरुका आपूर्तिकर्ता विदेशी तथा स्वदेशी कम्पनीहरुलाई एकै स्थानमा भेला गराएर आवश्यक जानकारी गराउने एक्सपोको मूख्य उद्देश्य हो । एउटा जलविद्युत् परियोजना निर्माण गर्छु भन्ने कम्पनीका लागि उसले कहाँ कहाँ गएर यो सूचना जानकारी संकलन गर्न जाने भन्ने एक प्रकारको अन्यौल पनि हुन्छ, एक्सपोले त्यो अन्यौल हटाएर जानकारी उपलब्ध गराउँदै समय र पैसा दुवैमा किफायती ल्याउँछ जस्ले गर्दा काम गर्ने जोश जाँगरमा समेत अभिवृद्धि हुने देखिन्छ । यसले गर्दा यस्तो हाइड्रो एक्सपोहरु नेपालमा जरुरी छ र भविष्यमा समेत निरन्तरता दिनुपर्छ जस्तो लाग्छ ।
विगतको एक्सपोको तुलनामा यो के कति भिन्न रहन्छ ?
जलविद्युत क्षेत्रको प्रविधीगत विकासको गती अन्य प्रविधीको तुलनामा कम नै हुन्छ वर्षैको अध्ययन र अनुसन्धानले नयाँ प्रविधिको विकास गर्ने भएको हुँदा गत एक वर्षको तुलनामा अहिलेको जलविद्युतको बजारमा खास प्रविधिजन्य विकास भएको छैन । त्यसो भन्दैमा विगतकै निरन्तरता मात्रै हो र केही पनि छैन भन्ने होइन । हामीले ठम्याउने गरीको परिवर्तन नदेखिए पनि केही फेरबदल भएको छ । यसमा मूख्यगरी हाल प्रचलनमा रहेका प्रविधि र सूचनालाई जानकारीको रुपमा पस्कने मात्र हो । यसमा नेपाल लगायत भारत, चीन, नर्वे, बुल्गेरिया, अष्ट्रिया आदिबाट सहभागिता जनाउने सुनिश्चीतता प्राप्त भएको छ । झण्डै ७०% स्टल बुकिंग भइसकेको छ ।
यसपटकको एक्सपोका खास विशेषता केही छन ?
विशेषता भन्नाले जलविद्युत् क्षेत्रमा चाहे त्यो विद्यार्थी होस वा अन्य कोही उसले नयाँ केही विचार तथा उत्पादन तयार गरेको छ भने त्यस्ता चिजको प्रतिस्पर्धा र प्रवद्र्धन गर्ने साथै रोबोटका माध्यमबाट जलविद्युत क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर रोबोटिक प्रतिस्पर्धा गराइने छ । यसभन्दा अघि पनि कलेजहरु बीच यस्तै प्रतिस्पर्धा गराइएको थियो जसमा साउथ वेस्टर्न स्टेट कलेज विजयी भएको थियो । यस पटक पनि कलेजहरुको सहभागिता रहनेछ । साथै टेक्निकल सेसनले पनि यसपटक निरन्तर प्राप्त गर्नेछ ।
नेपाली उर्जा बजारमा यस्तो एक्सपोले कत्तिको महत्व राख्छ ?
हाल हामीसंग के छ र हाम्रो चुनौती के हो साथै उर्जासंग सम्बन्धित मान्छेले यसलाई कसरी हेरिरहेको छ त्यो जान्ने अवसर भनेकै यस्तै एक्सपोले दिने हो । विगत ५० औं वर्षदेखि हामीले कृषि कृषि भन्दै आएकै हो तर त्यसमा हामीले उल्लेख्य केही गर्न सकेनौं र जलविद्युत भनेको पनि धेरै भैसक्यो । यसमा पनि त्यस्तो छलाङ्ग मार्न सकिएको छैन । आखिर यी कुराहरु किन कुरामै मात्र सीमित भैरहेका छन त भन्ने कुराको केही हदसम्मको जानकारी यस्ता एक्स्पोले प्रदान गर्छ । कुनै पनि कुरामा सक्रियता र सहभागिता नबढाई सफलता प्राप्त गर्न सकिंदैन । सफलताका लागि तपाईले कति खुडकिलो तयार गर्नु भयो त्यो महत्वपूर्ण कुरा हो । कुरामात्रै त कुराकै लागि सीमित हुने हो नि । हाम्रा हरेक सरकार र मन्त्रीे उर्जाको विकास र जलविद्युतको विकास भनेर थाक्दैनन । तर व्यवहारमा हेर्ने १ हजार मेगावाट थपिने काम भएको छैन र अब फेरि १५ हजार मेगावाटको कुरा गर्दैछौं हामी । हामी संग त्यसका लागि लगानीयोग्य तरलता छ त, अथवा विदेशी लगानीको कुरा गनुपर्दा हामीले त्यो वातावरण तयार गर्न सकेका छौं त । यी सबै कुराका बारे हामी स्पष्ट हुनु जरुरी छ । यहाँको हालको अवस्था र अप्ठ्यारा अनि उपलब्ध श्रोत, साधन तथा प्रविधिका बारेमा समेत पर्याप्त जानकारी एक्सपोमा प्राप्त गर्न सकिने हुनाले पनि यसको बेग्लै महत्व छ ।
यसभन्दा अघि जो कम्पनीहरु एक्सपोमा संलग्न भए उनीहरुको प्रतिक्रिया कस्तो रह्यो ?
जस्ले जस्ले स्टलहरु भ्रमण गरेर चासो व्यक्त गरे, जिज्ञासा राखे त्यसले उनीहरुलाई उत्साह प्रदान ग¥यो । राजनीतिक माहौल पनि सकारात्मक देखियो । त्यसले उनीहरुमा आशाको सञ्चार समेत गरेको देखियो । तर गएको एक वर्षमा खासै त्यस्तो उत्साहप्रद निर्णय भएन र वातावरण समेत देखिएन । त्यसो भन्दैमा निराश हुनुपर्ने पनि छैन । केही काम भएका छन तर हामीले जस्तो प्रगती देखिएन भएन मात्र हो । फेरि नेपाल जस्तो देशमा यस्ता एक्सपोहरुको आवश्यक्ता छ, व्यापारको सम्भावना पनि छ त्यसैले हामी फेरि नयाँ उत्सहकासाथ बजारमा उपलब्ध नयाँ प्रविधि लिएर आउँछौं भन्ने उहाँको सोच देखिन्छ ।
विगतमा सहभागी कम्पनीहरुको उत्पादन र प्रविधि उस्तै रहन्छ कि यसमा परिवर्तन देख्न पाइन्छ एक्सपोमा ?
जलविद्युतमा उपयोग हुने प्रविधि त्यस्तो हिजोको आजै परिवर्तन हुने प्रविधि होइन । तर त्यसो भन्दैमा फेरि केही पनि परिवर्तन भएको छैन र सबै उस्तै दुरुस्तै हो भन्ने पनि होइन । मूख्य रुपमा त्यस्तो परिवर्तन नदेखिए पनि केही परिवर्तन अवश्य रहन्छ जो जलविद्युत विकास तथा निर्माणमा लागेका व्यवसायी तथा कम्पनीका लागि लाभदायक नै देखिन्छ जो एक्सपोको एउटा उद्देश्य पनि हो ।