मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा खानेपानीमन्त्री बिना मगरले गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् । बुधबार मन्त्री मगरले प्रेस विज्ञप्तिमार्फत आफूविरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्ने उद्देश्यले अख्तियारमा उजुरी दायर गरेको विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
आयोजना आमनेपालीको प्रतीक्षा, प्रतिष्ठा र गौरवको आयोजना भएको भन्दै मन्त्री मगरले गलत मनसायका साथ गरिने प्रचारप्रति दुःख व्यक्त गरेकी छन् । आफ्नो कार्यकालमा नै आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको र अधिकांश काम सम्पन्न भए पनि केही काम बाँकी रहेको अवस्थामा इटालियन ठेकेदार कम्पनी सीएमसीले केही महिना पहिले हात झिक्दा समस्या आएको मन्त्रीको स्पष्टोक्ति छ ।
ठेकेदार कम्पनी आर्थिक रूपमा समस्यामा पर्दा आयोजनामा समस्या आएको भन्दै उनले आयोजना निर्माणको आफ्नै मान्यता हुने र त्यसविपरीत गएर मन्त्री वा कुनै पनि अधिकारीले निर्णय गर्ने अवस्थासमेत नभएको विज्ञप्तिमा जनाइएको छ ।
कानुनी मान्यता नाघेर कुनै अवैधानिक निर्णय लिन नसक्ने भन्दै उनले राज्यद्वारा निर्देशित ऐन, कानुनप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको संकल्पलाई यथावत राख्न प्रतिबद्ध रहेको स्पष्ट पारेकी छन् । उनले मेलम्ची खानेपानी विकास समिति आफैंमा स्वायत्त, अधिकारसम्पन्न सरकारी निकाय भएकाले आयोजनाको कुनै पनि निर्णयमा मन्त्रीको हस्ताक्षर नचल्ने र मन्त्रालयका सचिव अध्यक्ष रहने आयोजनामा सञ्चालक समितिको निर्णय नै अन्तिम हुने जनाएकी छिन् ।
आयोजनाको कुनै प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने परिस्थितिमा मात्र मन्त्रीको माध्यम हुँदै पेस हुने प्रक्रिया उल्लेख गर्दै उनले प्रसंग नै नभएको विषयमा मन्त्रीलाई जोड्न खोज्नु राजनीतिक पूर्वाग्रह र बेइमानी भएको उल्लेख गरेकी छन् ।
मन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “कुनै पनि आयोजना निर्माणको आफ्नै मान्यता हुन्छ । ती कानुनी मान्यता नाघेर हामीले कुनै अवैधानिक निर्णय लिन सक्दैनथ्यौं र लिएनौं पनि । यो हाम्रो नियत वा क्षमताको प्रश्न नभएर राज्यद्वारा निर्देशित ऐन, कानुनप्रतिको प्रतिबद्धता र सुशासनप्रतिको संकल्प हो । यसमा म दृढ छु, सधैं दृढ रहनेछु ।”
“यदि अनियमितता प्रमाणित भएन भने मेरो चरित्रहत्या गरेको जिम्मेवारी लिन तपार्इं रञ्जु दर्शना तयार हुनुहुन्छ ? म प्रश्न गर्न चाहन्छु,” मगरले विज्ञप्तिमा उल्लेख गरेकी छन्, “‘मेलम्ची खानेपानी आयोजनाको प्रगतिलाई म र मेरो परिवारमाथि आक्रमण गर्ने जुन राजनीतिक हतियार बनाइएको छ, त्यो निन्दनीय छ ।”